काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईको सांसद पद तत्काल निलम्वन नहुने भएको छ भने उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।
शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ । यसअघि यो सहकारी ठगीको मुद्दा अदालत गइसकेकाले सांसद राईलाई पनि सोझै अदालत उपस्थित गराउने वा म्याद लिएर अनुसन्धान गर्ने भन्ने थियो । तर, उनको नामबिनै अघिल्लो पटक सहकारी ठगीको मुद्दा दायर भएकाले म्याद थप गरेर पुरक अभियोजन लगेर मुद्दा चलाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म सहकारीको सञ्चालक समितिमा रहेर स्वर्णलक्ष्मी सहकारीको सहसचिव पदमा समेत कार्यरत सांसद राईविरुद्ध ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । तर, सरकारी वकिल कार्यालयले सांसद राईलाई उन्मुक्ति दिंदै मुद्दा दायर गरेको थियो ।
राई समेतका व्यक्तिले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । तर राईलगायत पाँच जनालाई उन्मुक्ति दिँदै २०८१ पुस २१ गते ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
यसैवीच सांसद राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई पक्राउ परेको जानकारी सभामुखले संसद्लाई गराए पनि तत्काल उनको सांसद पद भने निलम्बन नहुने बताइएको छ ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पार्टीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।