काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारका विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिने सत्तासाझेदार दल नेपाली कांगेसका नेताहरूलाई सत्ता पक्षका कि प्रतिपक्षका हुन भन्ने प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको वर्खे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विष्टले सत्तामा रहेका केही नेताको अभिव्यक्तिले उनीहरु सत्तापक्षमै होकि प्रतिपक्षमा हो चिन्न गाह्रो भएको बताएका छन् ।
सचिव विष्टले दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको बताएका छन् । सात बुँदे सहमतिलाई इमानदार ढंगले कार्यान्वयन गर्दै अघि बढ्ने विष्टले बताएका छन् ।
यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गर्ने प्रयास भइरहेको बताउँदै उनले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको दावी गरेका छन् । दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेको बताउँदै कहीँ कतै समस्या भए राजनीतिक संयन्त्रमा समाधान खोज्ने बताएका छन् । सांसद विष्टले भने “सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ । यो प्रकारको अवस्थाबाट माथि उठौँ । गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ ।”
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइरालालगायतले सरकारका विरुद्धमा सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका छन् । महामन्त्री थापा राजनीतिक संयन्त्रमा छन् । उनी संयन्त्रको वैठकमा उपस्थित भएर आफ्ना कुरा नराख्ने तर सार्वजनिक रुपमा अभिव्यक्ति दिने गरेपछि उनको अभिव्यक्तिप्रति कांग्रेस र वौद्धिक जगतले पनि आलोचना गरेको छ ।
देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको दावी गर्दै सांसद विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए ।
‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’
चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्ने तर्फ संसद् र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था रहेको बताए ।