काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने खोजिएको बताउँदै सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा सत्यता नभएको पनि बताएका छन् ।
‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,’ उनले भने, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’
संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने तर्क गर्दै उनले भने ‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं, संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’