काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको दावी गर्दै सरकार ढल्ने चर्चामा विश्वास नगर्न आग्रह गरेका छन् ।
थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन । सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई ।’
त्यस्तै परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवाले पनि सरकार परिवर्तन हुने हल्लालाई हल्ला मात्रै भएको बताइन् । थाइल्याण्ड बसाईको क्रममा सभापति देउवाको कुनै राजनीतिक भेटवार्ता नभएको वताउँदै उनले भनिन्, ‘यो उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन ।’
स्वदेश फर्किनुअघि हिजो मात्रै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनवार्ता गरेको मन्त्री राणाले बताएकी छिन् ।
देउवा दम्पत्ति बैंककमा रहेकै बेलामा नेपालमा भने सरकार ढल्ने चर्चा चुलिएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले अहिलेको सरकार लामो नजाने र देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने संकेत गरेका थिए । उनले देउवा बैंकक उड्नुअघि आफूसँग फोनवार्ता भएको दावी गरेका थिए ।