काठमाडौं । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति दिवस मनाइरहेकै बेला आज सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
आज (२०८२ वैशाख १२ गते) बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो ।
आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भए पनि क्षति भने केही पनि भएको छैन ।
यसैवीच गोरखाको बारपाकमा १० औँ भूकम्प स्मृति दिवस समारोह सुरु भएको छ । बारपाक–सुलिकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
समारोहको शुभारम्भमा भूकम्प गएको समय अर्थात ११ः५६ बजे ज्यान गुमाएका सबैको सम्झनामा मौन धारणा गरिएको थियो । त्यसअघि अध्यक्ष प्रचण्डले भूकम्पबाट भएको ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित उपस्थित समारोहलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।