काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
समसामयिक विषयमा प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन अन्तिम समयमा आएर स्थगित भएको हो ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आज संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको बताएको छ । देउवा थाइल्याण्डमा भ्रमणमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
प्रमुख दलका शीर्ष नेता आज बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो दोस्रो तहका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ । शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
यो अधिवेशनमा विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गर्नैपर्ने दवावमा सरकारले छ ।
शिक्षा विधेयक तत्काल ल्याउनु पर्नेसहितका माग राखेर शिक्षकहरु विगत २३ दिनदेखि आन्दोलनमा छन् । यस्तै कर्मचारीहरुले पनि निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब दिँदै आएका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । यही वैशाख १९ गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी छ ।