काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधले सडक विस्तारको काम डेढ महिनादेखि रोकिएको छ । सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार करिब २०० मिटर क्षेत्रमा काम ठप्प छ ।
पुलबजारमा ‘सेन्टर लाइन’ को विषयमा स्थानीयले असहमति जनाउँदै सडकको बीचबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये १४० फिटमा भइरहेको काम रोकेका छन् । स्थानीयले दुवैतर्फका घरमा बराबर दूरी छुट्याउनुपर्ने माग गरेका छन् ।
‘हामीले सडकको डिजाइनअनुसार बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरी बराबर गर्नुपर्छ भन्दै विवाद गरेपछि काम रोकिएको छ,’ आयोजनाका इन्जिनियर विष्णु खनालले भने । उनका अनुसार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीच मङ्गलबार भएको छलफल पनि निष्कर्षविहीन भएको छ ।
पुलबजारको अवरोधले बनेपाको मुख्य सहर क्षेत्रमा पनि निर्माण प्रभावित छ । चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य काम रोकिएको छ । खनालका अनुसार अवरोध तत्काल हटेन भने वर्षाअघि कामले गति नपाउने जोखिम छ । धुलिखेल क्षेत्रमा भने एक किमी सडकमा वाल, ड्रेन, पेवमेन्टको काम सम्पन्न भई कालोपत्रको तयारी छ ।
पुलबजारमा मापदण्डभित्रका घर–टहरा हटाउने, बिजुलीको पोल, अप्टिकल फाइबर र हाइटेन्सन पोल सार्ने काम पनि रोकिएको छ । आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डमा नासिकास्थानमा दुई, भैँसीपाटीमा तीन, जनागालमा दुई, बुडोलमा एक र २८ किलोमा एक गरी नौ घर–टहरा हटाउन बाँकी छ । बिजुलीको पोल सार्ने काम ७० प्रतिशत सकिएको छ भने एक हाइटेन्सन पोल सार्न बाँकी छ ।
आयोजनाले चैत २७ मा सार्वजनिक सूचना जारी गरी मापदण्डभित्रका संरचना हटाउन अनुरोध गरेको थियो । यसअघि २८ किलो, बुडोल, बनेपा र पुलबजारमा स्थानीय अवरोधले घर–टहरा हटाउने काममा ढिलाइ भएको थियो ।
यसैबीच, सूर्यविनायक–धुलिखेल सडकको छ लेन विस्तार समयमा नसकिने भएको छ । वि.सं. २०७९ पुस २४ बाट सुरु भएको १६ किमी सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि बाँकी आठ महिनामा काम नसकिने आयोजनाले जनाएको छ । हाल ४५ प्रतिशत काम भएको छ ।
आयोजनाका सूचना अधिकारी सजना अधिकारीले मापदण्डभित्रका संरचना हटाउन, रुख, बिजुलीका पोल र अप्टिकल फाइबर केबल स्थानान्तरणमा ढिलाइले समय थप्नुपर्ने बताइन् । ‘साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुल र व्यक्तिगत घरको विवादले पनि ढिलाइ भएको छ,’ उनले भनिन् । समयसीमासम्म करिब ६५ प्रतिशत काम हुने अनुमान छ ।
आयोजनाअन्तर्गत साँगा–धुलिखेल खण्ड (८.४ किमी) को विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक–साँगा खण्डका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
साँघुरो सडकले बर्सेनि ट्राफिक जाम बढेपछि विस्तार थालिएको हो । तातोपानी नाका खुलेसँगै यो राजमार्गमा सवारी चाप बढेको छ । हाल कोटेश्वरबाट मध्यपहाडी र पूर्वी तराईका लागि दैनिक १ हजार ५०० भन्दा बढी लामो दूरीका सवारी चल्छन् । रासस

























