काठमाडौं । भारतको जम्मुकश्मिरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणको नेपालले कडा निन्दा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भर्त्सना गर्नुपर्छ ।’
राष्ट्रपति पौडेलले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन् । आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ । आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ । पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ ।
यस्तै परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ । ‘नेपालले जम्मु तथा कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको बर्बर आतंकवादी हमलाको घोर भत्र्सना गर्दछ, शोकाकुल परिवारहरूप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं ।’
मन्त्रालयले शोकको यस घडीमा भारत सरकार तथा भारतीय जनताप्रति नेपालले ऐक्यबद्धता प्रकट गरेको छ । आतंकवादप्रति नेपालको अडान स्पष्ट रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाल सबै प्रकारका आतंककारी कार्यहरूको कडा शब्दमा भर्त्सना गर्दछ र यस्ता जघन्य कृत्यहरू कुनै पनि आधारमा जायज हुन सक्दैनन् भन्ने दृढ विश्वास राख्दछ ।’
मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २७ जना मारिएको मिडिया रिपोर्ट सार्वजनिक भएका छन् ।