काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार’ विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको बताए । सरकार यथास्थितिवादको मुख्य बाहकको रुपमा रहेको आरोप लगाउँदै त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाईलाई सफल पार्न सकिने दावीगरेका छन् ।
कम्युनिष्ट पार्टीहरुसँग एकता र ध्रुवीकरण प्रक्रियाअघि बढाउँदै वामपन्थी पार्टीहरुको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउँदै श्रेष्ठले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।
सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरी शान्तिपूर्णबाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताएका छन् ।