काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख भित्रैमा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।
प्रवक्ता बुढाथोकीका अनुसार वैशाख दोस्रो सातामा वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तार गर्ने र आइसीयूमा नौ शैय्या थप गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै भरतपुर अस्पतालमा क्याथ ल्याब सेवा शुरु हुने छ । जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने छ ।
भक्तपुर क्यान्सर अस्पतालले पीआइसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ भने भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोश्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ। यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता औपचारिक सञ्चालनमा ल्याउने बताइएको छ।
धनगढीको गेटा अस्पतालले भने वैशाख तेश्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्ने कार्यक्रम छ ।
मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पतालहरुलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिएका छन् ।