काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्ने प्रदर्शन सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण हुने जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल मार्फत आजको प्रदर्शनमा सीमित नेता मात्रै सहभागी हुने शान्तिपूर्ण प्रदर्शन रहेकाले नडराउन सरकारलाई भनेका छन् ।
राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिए पछि गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।
आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
राप्रपाले गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंका प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले आवश्यक सुरक्षा रणनीति अपनाइएको जनाएका छन् ।
चैत १५ गते राप्रपाका नेताहरुको समेत सहभागी भएर काठमाडौंको तीनकुनेमा राजावादीहरुले शान्तिपूर्ण प्रदर्शन तथा आमसभा गर्ने भने पनि प्रदर्शन हिंसात्मक बनेको थियो । त्यसपछि राप्रपाले चैत २६ गते बल्खुमा गरेको प्रदर्शन भने शान्तिपूर्ण र मर्यादित देखिन्थ्यो । तर आजको प्रदर्शन निषेधित क्षेत्र तोड्ने भनिएकाले सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ ।
राप्रपाले स्थानीय प्रशासनसँग कुनै पनि कार्यक्रमका लागि अनुमति नमागेको र कार्यक्रमस्थल पनि नतोके पछि उपत्यकाभरका प्रहरीलाई स्ट्याण्डबाई ड्युटीमा राखिएको छ । प्रहरी स्रोतका अनुसार सिंहदरबार र सर्वोच्च अदालतलाई लक्षित गर्दै भद्रकाली र माइतीघरमा कर्डन ड्युटी राखिएको छ भने संसद भवनलाई लक्षित गर्दै बबरमहल र तीनकुनेसम्म त्यस्तो ड्युटी लगाइएको छ ।
त्यस्तै राष्ट्रपति भवनलाई लक्षित गर्दै महाराजगञ्ज, नारायणगोपाल चोकदेखिकै सुरक्षा व्यवस्था कडा बनाइएको छ भने प्रहरी तालिम केन्द्रबाट पानीपोखरीतर्फ जाने सडकमा अलग्गै ड्युटी खटाइएको छ ।
लैनचौरमा रहेको उपराष्ट्रपति कार्यालयको सुरक्षाका लागि बालाजुबाट आउने सवारी साधनलाई अस्कल क्याम्पसबाटै अगाडि बढ्न नदिइ होटल मल्लको छेउबाट ठमेल हुँदै डाइभर्ट गरिने भएको छ ।
त्यस्तै प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षाका निम्ति नक्साल, भाटभटेनी मन्दिरसँगैको ढुंगेधारामा कर्डन ड्युटी तोकिएको छ भने सभामुखको निवासतर्फ जानसक्ने भिडलाई नियन्त्रणमा लिन गैरीधाराबाट खोर्सानीटार जाने स्थानमा कर्डन ड्युटी तोकिएको छ ।
ड्युटीका क्रममा प्रहरीका तर्फबाट सर्वसाधारणको आवागमनलाई प्रभावित नपारिने नीति अवलम्बन गरिएको प्रहरी बताइएको छ । आजको ड्युटीका लागि उपत्यकाका विभिन्न प्रहरी युनिटसहित विभिन्न गण र गुल्मको टोलीलाई पनि स्ट्याण्डबाई राखिएको छ ।