काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि र अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने चेतावनी दिएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधान विरोधि गतिविधि नगर्न चेतावनी दिएका हुन ।
संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुनअनुसार कारबाही हुने बताए ।
वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्रप्त भएको बताउँदै उनले यसको रक्षाका लागि सुरक्षा निकायका साथै सवै तयार हुनुपर्ने बताए ।
वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको दावी गर्दै उनले भने नेपालमा सात दशककको अन्तरालमा सातवटा संविधान बने, पटकपटक संविधान बन्नु राम्रो होइन ।
संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले बर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समिक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने बताए।
पछिल्ला वर्षमा लागु औषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रुपमा देखा परेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर कृयाशिल रहेको बताएका छन् ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको बताउँदै उनले जनतालाई सेवा दिने कुरामा कुनै किसिमको कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।
जिल्लास्थित जिल्ला प्रशासन कार्यालय संघको प्रतिनिधि रहेको उल्लेख गर्दै यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन कृयाशील हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमीलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरेको बताएका छन् ।
बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिरेको वताउँदै उनले प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको बताए ।
सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।
मन्त्री लेखकले आजै संघ मातहत रहेको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । गण्डकी प्रदेशमा आपतकालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपतकालीन गोदाम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दामेबस्ती सहायता सुनिश्चित गर्ने उनले बताए ।