काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तय गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी २०८२ साल फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेका छन् । उनका अनुसार २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गरिनेछ ।
रास्वपाले हालसम्म १ हजार ९ सय ७५ वटा वडा समिति गठन गरिसकेको छ, जसमध्ये ७ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ४ सय ५८ पालिकामा समिति गठन भइसकेको छ ।
यस्तै, ७० जिल्लामा भेला आयोजना गरेर समिति गठन गरिएको छ भने सातै प्रदेशमा समेत समिति गठन सम्पन्न भएको रास्वपाले जनाएको छ ।