काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा बिहीबार सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
बिहीबारको सुनुवाइमा अधिवक्ता बालकृष्ण न्यौपानेले नीतिगत निर्णयमा मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट तथा अख्तियारले गरेको पुनरावेदनलाई एउटै लगाउमा राखेर हेर्न माग गरे ।
त्यसक्रममा न्यायाधीश नित्यानन्द पाण्डेयले अख्तियारको पुनरावेदन साधारण इजलासमा रहेकाले दुवै मुद्दा एउटै लगाउमा राखेर हेर्न मिल्ने हो वा नमिल्ने भन्ने विषयमा प्रश्न उठाए । अधिवक्ता न्यौपानेले अदालतले भविष्यसम्मको असरसमेत विचार गर्नुपर्ने भएकाले मुद्दा एकैसाथ हेर्नुपर्ने तर्क प्रस्तुत गरे ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अख्तियारको पुनरावेदनमा धेरै प्रतिवादी रहेका कारण ती सबै मुद्दा मिसिएर आएपछि मात्र एउटैसाथ हेर्न मिल्ने वा नमिल्नेबारे समेत अध्ययन आवश्यक भएको बताए ।
प्रधानन्यायाधीश राउतको भनाइसँगै बिहीबारको बहस टुंगिएको र मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आजकै लागि नेपाल र भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।