काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरु काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेपनि शिक्षकहरुले प्रदर्शनलाई निरन्रतता दिएका छन् ।
शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ गतेदेखि संसदको बर्खे अधिवेशन सुरु हुन लागेपनि सरकारले माग सम्बोधन गर्ने सम्भावना नदेखिएकाले आन्दोलनलाई निरन्तरता दिएको शिक्षकहरुको भनाइ छ । शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने नेपाल शिक्षक महासंघको भनाइ छ । महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ । सरकारबाट पटकपटक उधारो आश्वासन पाउँदै आएको भन्दै ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको भनाइ छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक र कर्मचारीलाई काठमाडौं आउन आब्हन गरेका छन । शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले चैत २० देखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएका छन । राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छैन । शिक्षकहरुले कक्षा १२ को परीक्षामा पनि भाग नलिने चेतावनी दिएका छन ।