काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
देशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार देशको पहाडी भू भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
त्यस्तै आज कोशी प्रदेश लगायत देशको पहाडी भू भागका केही स्थानहरू र बाँकी भू भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।