रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घरमा आगो लगाउने, मान्छे जलाउने अराजकतावादीहरूलाई राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले शान्तिपूर्ण प्रदर्शन भइरहँदा राजावादीहरूले अराजक गतिविधि मच्चाएको उल्लेख गरे ।
“गणतन्त्र नेपाली जनताको अभिमत र बलिदानबाट आएको हो, कसैले दान दिएको होइन,” उनले भने, “हामी अभियानमै रहँदा काठमाडौंमा वितण्डा भयो, हाम्रो अभियान केही ढिलो भयो तर निरन्तरता दिइरहेका छौँ।”
उनले गणतन्त्रको मुख्य हिस्सेदार माओवादी भएकाले त्यस विरुद्धका सबै षड्यन्त्रविरुद्ध खबरदारी गर्नुपरेको बताए । उत्पीडित, उपेक्षित र पछाडि पारिएको वर्ग सधैँ माओवादीसँग रहेको उल्लेख गर्दै उनले व्यवस्था उल्ट्याउन खोज्नेहरूलाई जनताले चिनेको दाबी गरे ।