काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो । सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धन भित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन् ।
सोमबार एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो । सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो । सोही अनुसार संयन्त्रको बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतमा छलफल हुने अपेक्षा गरिएको छ ।