काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।
सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल तथा संयन्त्र मै रहेका नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच मंगलबार बिहान ११ बजे बालुवाटारमा छलफल भएको हो ।
नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ । प्रचण्डको अभिव्यक्तिमा सहयोग पुग्नेगरी कांग्रेस महामन्त्री थापाले पनि अभिव्यक्ति दिए पछि एमाले नेताहरु सशंकित बनेको देखिन्छ ।
दुई नेताबीचको भेट नियमित अन्तर्गत नै भएको र चाँडै संयन्त्रको वैठक बोलाउने सहमति भएको वालुवाटार स्रोतले बताएको छ ।