काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । प्रत्येक दिन बिहान ११:०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसंगीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।
आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ । आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासंघले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ ।
अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा/आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन् । साथै, स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ । (रासस)