काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलाई लिएर गलत न्यारेटिभ बनाइएको बताएका छन् ।
शनिबार काठमाडौंमा खिमलाल देवकोटाद्वारा लिखित पुस्तक ‘सङ्क्रमणकालीन न्याय’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूमाथि गलत आरोप लाग्ने गरेको बताएका हुन् ।
इतिहासलाई पछाडि धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पङ्क्ति र बुद्धिजीवी वर्गबाट त्यसको खण्डन नभएको गुनासो उनले गरे ।
‘एक थरी मानिसहरू इतिहासलाई पछाडि धकेल्ने चाहनेका साथ १७ हजारको हत्यारा भनिरहन्छन् । यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्य पक्ष र विद्रोहीले कति गर्यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘व्यक्तिको कुरा गर्ने हो भने मैले एक जनालाई पिटेको पनि छैन, हत्याको त कुरै छाडौँ ।’
उनले युद्धको नेतृत्व आफूले गरेको भन्दै शान्तिमा आएपछि सबै कुराको जिम्मा पनि लिने दोहोर्याए ।
उनले आफूमाथि लागेका गलत आरोपको बुद्धिजीवीबाट खण्डन नभएको भन्दै गुनासो समेत व्यक्त गरे । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनकै लागि सेना समायोजन गरेको र त्यसैका कारण आफ्नो पार्टी समेत विभाजन भएको उनको भनाइ थियो । (रासस)