बेइजिङ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेपछि बदलामा चीनले पनि शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले एकपछि अर्को गर्दै अतिरिक्त कर वृद्धिको घोषणा गरी रहँदा विश्वको व्यापार क्षेत्रमा भने प्रत्यक्ष असर परिरहेको छ ।
चीनले भने ट्रम्पले एकपछि अर्को गर्दै बढाइरहेको कर वृद्धिलाई ‘मजाक’ र ‘संख्याको खेल’ भन्दै टिप्पणी गरेको छ । उसले ट्रम्प प्रशासनले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप लगाएको छ । बेइजिङले भनेको छ, ‘अमेरिका यस खालको अराजकताका लागि पूर्ण जिम्मेवार हुनुपर्छ ।’
विश्व अर्थ बजारमा नयाँ ट्यारिफले उथलपुथल मच्चाएपछि भने ट्रम्प आफ्नो योजनाबाट पछि हट्दै बुधबार ९० दिनका लागि चीनबाहेक बाँकी मुलुकमाथि लगाइएको करलाई स्थगन गर्ने घोषणा गरेका थिए । यद्यपि उनले चिनियाँ सामानको आयातमा लगाइएको अतिरिक्त करलाई भने निरन्तरता मात्रै दिएनन्, बरु थप वृद्धि गर्दै १४५ प्रतिशतको आश्चर्यजनक विन्दुमा पुर्याएका छन् । चिनियाँ अर्थ मन्त्रालयले भने अमेरिकाले चालेको थप कर वृद्धिको कदमलाई नजरअन्दाज गरिने बताएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले चीनमाथि असामान्य रूपमा उच्च करको चरणबद्ध वृद्धि लागू गर्नु अर्थशास्त्रीय दृष्टिकोणबाट पनि कुनै व्यावहारिक महत्त्व छैन ।’ उसले अमेरिकाले करवृद्धिको कदमलाई ‘नम्बरको खेल मात्र’ रहेको टिप्पणी गर्दै चीनले यसलाई बेवास्ता गर्ने बताएको छ ।
यता, ट्रम्पले भने आफ्नो कर रणनीतिबाट संक्रमण लागत र संक्रमण समस्या उत्पन्न भएको स्वीकार गरे पनि आफ्नो निर्णयकै कारण विश्वव्यापी बजार उथलपुथल भएको भन्ने विश्लेषकका दाबीलाई नकारेका छन् । ‘पछि यही कुरा सुन्दर लाग्नेछ,’ उनले भनेका छन् । उनले अहिलेको बजार युद्धबाट युरोपेली संघ (ईयू) ले आफूलाई चलाखीपूर्वक बचाउन सकेको भन्दै प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘सुरुवातमा ईयूले हाम्रो कर घोषणालगत्तै प्रतिशोधपूर्ण कदम चाल्न तयारी अवस्थामा थियो । तर पछि यसको असर केसम्म हुन सक्छ भन्ने उसले चीनको सन्दर्भबाट बुझेपछि सही निर्णय लिएको छ ।’
यद्यपि २७ सदस्यीय राष्ट्रको ईयू समूहकी प्रमुख उर्सुला भोन डेर लेयेनले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै यदि ट्रम्पसँगको वार्ता असफल भयो भने उसले ‘व्यापक प्रतीकारात्मक उपाय’ अपनाउने बताएकी छन् । ‘यदि अमेरिकासँगको वार्ता असफल भयो भने हामीले पनि डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछौं ।’
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि ईयूलाई करको प्रतिकार गर्नका लागि आवश्यक कदम चाल्न आग्रह गर्दै आएका छन् । ‘युरोपेली आयोगको छलफलमा हामीले आफूलाई बलियो रूपमा देखाउनुपर्छ, युरोपले सबै आवश्यक प्रतीकारात्मक उपायहरूमा कदम चाल्न जारी राख्नुपर्छ,’ म्याक्रोंले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
त्यसैगरी, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग शुक्रबार भएको वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र ईयूले यस विषयमा मिलेर काम गर्नुपर्ने बताएका छन् । ‘चीन र युरोपले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्छ र संयुक्त रूपमा अमेरिकाको एकपक्षीय दादागिरीपूर्ण अभ्यासको प्रतिरोध गर्नुपर्छ,’ राष्ट्रपति सीले थप भनेका छन्, ‘यसले अमेरिकाइतरका मुलुकको आफ्नो वैध अधिकार र हितको रक्षा मात्र गर्दैन, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा पनि गर्नेछ ।’
ट्रम्प नीतिका आलोचक भने पछिल्लो परिस्थितिले आपूर्ति शृंखलामा निर्भर कम्पनीका लागि अराजकता निम्त्याइरहेको र अमेरिकी उपभोक्ताका लागि सामानहरू थप महँगो बनाएको बताइरहेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने ९० दिनपछि कर पुनः फिर्ता आउन सक्ने भन्दै अझै चेतावनी दिइरहेका छन् । ‘यदि अन्य मुलुकसँग वार्तामार्फत सम्झौता हुने अवस्था आउँदै गर्दा हामी फेरि जहाँ थियौं, त्यहीं फर्कन सक्नेछौं,’ ट्रम्पले चेतावनी दिँदै भनेका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पले ९० दिनका लागि कर स्थगन गरेर ‘स्वागतयोग्य कदम’ चालेको भन्दै अप्रिल २८ मा हुने निर्वाचनपछि नयाँ आर्थिक सम्झौताका लागि वासिङ्टनसँग वार्ता थाल्ने बताएका छन् भने भियतनाम, पाकिस्तानले अमेरिकासँग व्यापार वार्ता गर्ने बताएका छन् । पछिल्लो घटनाक्रमबाट अमेरिकाले चीनलाई अलग्याउन खोजेपछि चीनका राष्ट्रपति सीले आगामी साता भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमण सुरु गर्दै छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग शुक्रबार द्विपक्षीय वार्ताका क्रममा बेइजिङमा । (एएफपी/रासस)