काठमाडौं । तीनकुने घटनाका मुख्य व्यक्ति दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बिहीबार भारतमा पक्राउ परेका प्रसाईंलाइ शुक्रबार झापाबाट काठमाडौं ल्याइएको थियो ।
नेपाल प्रहरीको विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याएको हो । यही चैत्र १५ गतेको राजावादीहरुको प्रदर्शनको क्रममा प्रसाईंले प्रहरीको निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईं फरार रहेका थिए । उनी उक्त आन्दोलनको कमाण्डर बनेका थिए ।
राजावादीको प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए । त्यसपछि हिंसा भड्किएको थियो । सो हिंसात्मक प्रदर्शनमा एभिन्यूज कर्मी सुरेश रजक र कीर्तिपुरका सर्वसाधारण सविन महर्जजको ज्यान गएको थियो । प्रसाईँका समर्थकले भाटभटेनी सुपरमार्केट,संचारगृह, सार्वजजिक सम्पत्ति,नीजि तथा सरकारी सवारी साधनमा तोडफोड,लुटपाट र आगजनी समेत गरेका थिए । फरार प्रसाईँलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो । भागेर भारत पुगेका प्रसाईँको खोजीका लागि प्रहरीको विशेष टोली भारत पुगेको थियो ।
प्रसाईंले बिहीबार भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएपछि उनलाई झापाको चन्द्रगढी विमानस्थलबाट आज काठमाडौं ल्याइएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।