सिरहा । नेपाली कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले ०८२ मंसिरमा कांग्रेसको १५ औं महाधिवेशन नहुने स्पष्ट पारेका छन् । बिहीबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेको कारण देखाउँदै अगामी महाधिवेशन समयमै नहुने उनले स्पष्ट पारेका हुन् । विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीँ अनुसार कम्तीमा एक वर्ष थपिने उनको भनाइ छ ।
डाक्टर महत अहिले हुलाकी राजमार्गअन्तर्गत मधेसका जिल्लाहरूमा कांग्रेस नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान थालेका छन् । सप्तरीबाट सुरू गरेको अभियान पहिलो चरणमा महोतरीसम्म ४ वटा जिल्लामा जाने उनको भनाइ छ। पालिका सम्मेलन तथा भेटघाटमा उनले महाधिवेशनको तयारी नपुगेको बताउँदै आएका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले समयमै महाधिवेशन हुने बताइरहेको अवस्थामा तपाईं किन समयमै हुँदैन भन्दै हुनुहुन्छ भनेर पत्रकारले प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रवक्ता महतले अहिलेसम्म सचिवालय पनि गठन नभएको,सदस्यता नविकरण नभएको र नयाँ वितरण हुन ढिलाइ भएका कारण महाधिवेशनको समय सारिने जनाएका छन् ।
कांग्रेस महासमिति एकजना सदस्यले महतको भनाइबाट अहिले महाधिवेशन गराउने पक्षमा संस्थापन पक्ष नरहेको पुष्टि भएको बताए।
‘कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा अहिले संसदीय दलका नेता हुन् । ओलीपछि कांग्रेसले सरकारको नेतृत्व पाउने सहमति छ । शेरबहादुर प्रधानमन्त्री बन्नुहुन्छ, कांग्रेसका ती महासमिति सदस्यले भने,’शेरबहादुर प्रधानमन्त्री बन्नु अघि महाधिवेशन गराएपछि उहाँ पार्टी सभापति रहँदैन । सभापति नरहेको खण्डमा प्रधानमन्त्री बन्ने सम्भावना हट्छ कि भनेर अहिले तयारी नपुगेको भनेर टारिरहेको छ । ‘
नेपालमा अब संवैधानिक राजतन्त्रको पनि सम्भावना नरहेको प्रवक्ता महतले बताए । मिश्रित निर्वाचन प्रणालीमा एउटै दलले बहुमत ल्याउन कठिन भइरहेकोले संविधान संशोधन गर्ने कि भनेर दलहरूबीच छलफल भइरहेको उनले जानकारी गराए । कांग्रेस-एमाले गठबन्धन सरकारले जनताको पक्षमा कार्य गरिरहेको उनको दाबी छ ।