काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण हुने र सरकारले दमन गरे हिंस्रक हुन सक्ने चेतावनी दिएका छन ।
राजावादी समूहको संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने चेतावनी दिएका हुन ।
शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न सरकारलाई आग्रह गर्दै लोहनले भने “नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ, उनीहरुलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा संघर्षसिवाय अर्को उपाय छैन, संघर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ ।’
नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको र त्यसका लागि पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल गराउने दाबी गर्दै लोहनीले भने “राप्रपाले भनेको छ हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ । अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन ।’