काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले चैत १५ गतेको कार्यक्रमपछि जारी भएका वारेन्ट खारेज गर्नुपर्ने र नेता नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने माग गरेका छन् ।
बुधबार काठमाडौँमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै गुरुङले पक्राउ परेका नेता नछोडे वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।
‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने तीनकुनेमा हामी सामूहिक गिरफतारी दिन्छौं, सबैभन्दा पहिले ७८ वर्षको सुगर बिरामी माटोको टिका लगाएर मै हिँड्छु। तपाईंहरु को आउनुहुन्छ, आउनुहोस् । २२ गतेको दिनमा सामूहिक गिरफ्तारी दिने ।’
शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेको वताउँदै गुरुङले भने ‘शक्ति साधना नगरेसम्म सत्ता प्राप्ति हुँदैन । अहिले हामी चुप लागेर बसेका छैनौं ।’
कतिपय शक्ति मन्दिर फुटाउने, मूर्ति फुटाउने, पिसाब छर्कने गर्दै हिंडिरहेका उल्लेख गर्दै उनले भने, ‘हामी त्यही मन्दिरमा गएर ए भगवान हामीलाई शक्ति देऊ है भनिरहेका छौं ।’
तीनकुने प्रदर्शनपछि राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको वताउँदै उनले आफूहरु आन्दोलनमै रहेको र पछि नहट्ने बताए ।