काठमाडौं । वायु प्रदूषण मापनमा आज पनि काठमाडौं उपत्यका विश्वकै पहिलो स्थानमा छ । विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले आज बिहान गरेको मापन अनुसार काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखिएको हो ।
इन्डेक्सका अनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १ सय ८४ छ । प्रदूषण मापन सूचकांक अनुसार वायुको यो अवस्था अस्वस्थकर हो । यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला तेस्रो स्थानमा रहेका छन । दिल्लीको एक्यूआइ १ सय ८० छ भने कम्पलाको एक्यूआई १ सय ५७ छ ।
चिकित्कसहरुले विगत केही दिनयता काठमाडौंको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन् । लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो ।
विगत दुईतीन दिन यता काठमाडौं उपत्यकाको वायु प्रदूषण केही कम भए पनि विश्वको सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा भने अहिले पनि कायमै छ । स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।