काठमाडौं । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक भएका छन् । सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू प्रस्तुत गरेका हुन् ।
बैठकले बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत कार्यकारी सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी, बैठकले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय लिएको छ । साथै, वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।