काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुध्रिनका लागि चेतावनी दिँदै नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
पार्टीले काठमाडौँको बल्खुमा आज आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भृकुटीमण्डमा आमसभा गर्न दिँदाखेरी ढल्ने कस्तो गणतन्त्र हो ? भन्ने प्रश्न पनि गरेका छन् । राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न जिल्ला प्रशासनमा निवेदन दिएको थियो । तर प्रशासनले वल्खु वा सिफल चौर रोज्न भनेको थियो । राप्रपाले वल्खु रोजेको हो ।
राप्रपालाई कमजोर नठान्न चेतावनी दिँदै अध्यक्ष लिङ्देनले सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको बताए ।
भ्रष्टहरूलाई जेल हाल्छु भनेर घोषणापत्रमै लेखेर भोट मागेर आएको पार्टी राप्रपा भएको वताउँदै अध्यक्ष लिङदेनले शान्ति, अहिंसाप्रतिको राप्रपाको विश्वासलाई कमजोरी नठान्न चेतावनी दिए । अध्यक्ष लिङदेनले राप्रपाले मौका पर्यो भने राजा, हिन्दू राष्ट्र ल्याउँने, संघीयता खारेज गर्ने र भ्रष्टाचारीहरुलाई जेल हाल्ने बताए ।