काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँको तीनकुने क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न स्थायी रुपमै रोक लाउन निर्देशन दिएको छ ।
चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा भएको घटनाबारे गृहमन्त्री रमेश लेखक सहित सुरक्षा निकायका प्रमुखसँग आज भएको छलफलमा समितिले सुरक्षाका दृष्टिकोणले तीनकुने क्षेत्र संवेदनशील भएकाले त्यहाँ सार्वजनिक कार्यक्रम गर्न नदिन निर्देशन दिएको हो ।
सांसदहरुले तीनकुने अन्तराष्ट्रिय विमानस्थलबाट नजिक, पेट्रोलिय पदार्थ भण्डारण स्थल, उपत्यका भित्रने मुख्य राजमार्गसँग जोडिएको, मिडिया हाउसहरु नजिकै भएकाले आइन्द सार्वजनिक कार्यक्रम नै गर्न नदिन निर्देशन दिएको हो ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ, ‘तीनकुने र आसपासको स्थानमा अब आइन्दा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।’
यसअघि काठमाडौँमा केही स्थानमा हुने प्रर्दशनलाई रोक्न सरकारले गर्ने अस्थायी निषेधलाई आलोचना गर्ने सांसद र संसदीय समितिले तीनकुनेको संवेदनशिलालाई ध्यान दिँदै सार्वजनिक कार्यक्रमका लागि रोक लगाउनु पर्ने बताए ।
त्यस्तै समितिले घटनाका दोषीहरु उपर छानविन गरी कानूनी कारवाही अघि बढाउन सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहोरिनबाट रोक्न एवं संविधान, कानून एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि वढ्न समितिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ।




















