काठमाडौं । मित्रराष्ट्र म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित नेपाली सेनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको CN-235 CASA विमानद्वारा म्यानमार तर्फ प्रस्थान गरेको हो ।
विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने बताइएको छ ।
म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् ।