काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो, तर सुनुवाइ पूरा नहुँदा दुवै रिटलाई हेर्दाहेर्दैमा राखिएको हो । घिसिङ र शाक्यको रिटको सुनुवाइ आइतबार पनि तय गरिएको थियो, तर सुनुवाइ हुन सकेको थिएन ।
घिसिङले आफ्नो पदाधिकार अझै बाँकी रहँदा सरकारले बदनियत पूर्वक आफूलाई हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् । अर्कोतर्फ, शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङको नियुक्ति गलत भएको भन्दै त्यति बेला रिट दायर गरेका थिए ।
सो रिटमा कुनै निर्णय नभएपछि चार वर्षपछि उनले हालको कुलमान घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका छन् । अदालतले दुवै रिटमा सुनुवाइ गर्ने प्रक्रिया जारी राख्ने जनाएको छ ।