काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् ।
औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।
थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।
थाइल्यान्डसँग नेपालको ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता हुनेछ । यसक्रममा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई सरकारी तथा गैरसरकारी क्षेत्रस्तीय ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने सोमवारको सदनमा सम्वोधन गर्दै ओलीले जानकारी दिएका थिए ।
द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिने ओलीले सदनमा बताएका थिए ।
प्रधानमन्त्री ओलीले २१ चैतमा त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।
भ्रमणको क्रममा २२ चैतमा प्रधानमन्त्री बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन् भने त्यसै दिन उनले सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्रीले विभिन्न मुलुकका प्रतिनिधिमण्डलका अगुवासँग साइडलाइन वार्ता गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । ओलीलाई बिदाइ गर्दै नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो ।