काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गर्नु भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आज हिउँदे अधिवेशन अन्त्य गर्नु भएको हो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो । आज यो अधिवेशनको अन्तिम वैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाइए पनि सुरु हुन ढिलाइ भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बोहराको निधनका कारण बैठक बस्न ढिलाइ हुने भएको बताइएको छ ।
सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको बैठक कक्षमा पुगेपछि बोहराको निधनको खबर आएकाले केहीबेर रोकिएको हो । सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद वैठक बस्न ढिलाइ गरिएको सचिवालयले जनाएको छ ।
बैठकमा शोक प्रस्ताव पारित भएपछि हिउँदे अधिवेशन अन्त्य हुनेछ ।