काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृह मन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पुर्याएको क्षतिको अनुगमन गर्न पुगेका गृह मन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् ।
शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पतीमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरु बताउँछन् ।
राजावादीहरुले शुक्रबार तीनकुनेमा निजी सम्पतीमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटी स्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पतीहरुमा आगजनी गरेका थिए ।