काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले समाजवादी मोर्चा र राजतन्त्र समर्थक दल तथा सङ्गठनद्वारा शुक्रबार काठमाडौंमा गरिएका प्रदर्शन र आमसभाको अनुगमन गरेको छ। आयोगले चार वटा उच्चस्तरीय टोली बनाएको थियो।
अनुगमनका क्रममा काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरूको प्रदर्शन र आमसभा हिंसात्मक भएको छ। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए र घरमा आगजनी गर्न खोजेका थिए। झडपमा प्रदर्शनकारी र प्रहरी दुवै घाइते भएका छन्।
प्रदर्शनकारीहरूले सञ्चारमाध्यमका भवन र व्यक्तिगत घरमा आगजनी र आक्रमण गरेका थिए। यसका साथै दमकल र सशस्त्र प्रहरीको गाडीमा पनि ढुङ्गा प्रहार गरिएको थियो।
प्रदर्शनकारीहरूले राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीमाथि कोटेश्वरमा साङ्घातिक आक्रमण गरेका थिए, जसबाट टोलीका सदस्य घाइते भएका छन्।
प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहरा र अश्रुग्याँस प्रयोग गरेका थिए। साथै, समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाएपछि आवागमनमा समस्या आएको पनि आयोगले जनाएको छ ।