काठमाडौँ । राजावादीहरुको तिनकुने क्षेत्रमा आज भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईले तीनकुनेको सभास्थल तर्फबाट आफैले गाडी चलाएर वानेश्वरतर्फ अघि बढेका थिए । प्रहरीले रोक्दारोक्दै प्रहरीलाई नै गाडीले किचौला झै गरेर प्रहरीको एउटा घेरा तोडेर अघि बढेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडप उग्र बन्दै जाँदा हिंसात्मक बन्न पुगेको छ ।
राजावादीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा, अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोजेको थियो । तर प्रदर्शनकारीले निजी व्यक्तिको घर तोडफोड, आगजनी गर्नुका साथै आगो निभाउन आएको दमकलमाथि समेत ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन रबरको गोली चलाएको थियो । प्रर्दशन झन झन उत्तेजित भएपछि प्रहरीले रियल गोली समेत प्रहार गरेको छ ।
प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीलाई तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको बताइएको छ ।
यस्तै झडपमा दर्जनौ प्रहरी घाइते भएको र उनीहरुमध्ये ४ जना सुरक्षाकर्मीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।