काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ । समाजवादी मोर्चा र राजावादीको र्याली तथा सभाका कारण काठमाडौँका मुख्य सडकमा यातायात प्रभावित भएको हो ।
समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा बनाएका कारण रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक हिजो साँझदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ ।
त्यस्तै काठमाडौँको कोटेश्वर, तीनकुने, बानेश्वर, त्रिपुरेश्वर, थापाथली, माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिँला अन्य क्षेत्र देखि भित्री सडकमा पनि सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शनका साथै सभा गरेका छन् ।
समाजवादी मोर्चाले एक लाख भन्दा बढी जनता उतार्ने उद्घोष गरेको छ ।
उता तीनकुनेमा राजावादीले गर्ने प्रदर्शन तथा सभामा राजसंस्था पुनस्र्थापना समिति, दुर्गा प्रसाईको मातृभूमि वचाउ महाअभियान, राप्रपा, राप्रपा नेपाललगायतका पार्टी तथा संघसंस्थाहरु सहभागी छन् । उनीहरुले राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र नेपाल र संघीयता खारेजीलगायतका माग राखेर गरिएको प्रदर्शनमा लाखौ जनता सहभागी भएको दावी गरेका छन् ।
दुवै पक्षले शक्ति प्रदर्शनका रुपमा लिएको प्रदर्शन तथा सभामा मुडभेड हुन नदिन र नागरिकको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।