काठमाडौं । चार दल सामेल रहेको समाजवादी मोर्चाले आज (शुक्रबार) गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ ।
मोर्चाले काठमाडौंका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौंको भृकुटीमण्डपमा सभा गर्ने भएको छ । मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्ने बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ ।
चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ । मोर्चाले विरोध प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी हुने अपेक्षा राखेको छ ।
काठमाडौं उपत्यकामा आज सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक व्यवस्थापनका लागि आज १८०० ट्राफिक प्रहरी खटाइनेछ । ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ । एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरीको अनुमान छ ।
आवश्यकता अनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुने र त्यसका लागि सबै ट्राफिक पालैपालो गरी खटिने बताइएको छ ।