काठमाडौं । राजतन्त्रको पक्षमा राजावादी दलहरु सहितको अभियानले आज (शुक्रबार) काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ ।
राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेपछि यस प्रदर्शनको नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अपनत्व लिदै सहभागी हुन आव्हान गरेको हो । साथै सुवेदी नेतृत्वको समितिले राजतन्त्र फर्काउने आन्दोलनको जनकमाण्डर प्रसाईलाई बनाएको छ ।
आजको प्रदर्शनमा रा.प्र.पा., रा.प्र.पा. नेपाल जस्ता राजावादी दलहरुले पनि सक्रिय सहभागिता जनाउने बताइएको छ । आजको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ ।
राजावादीको र्याली भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट तीनकुने पुग्ने तय छ । उनीहरूका सबै र्याली रिङरोडबाटै कार्यक्रमस्थल पुग्नेछन् । रिङरोडभित्रबाट राजावादीको र्यली शुुरु हुने छैन । उनीहरू रिङरोडमा जम्मा भएर मात्रै र्यली शुुरु गर्ने छलफल भएको छ । प्रहरीले त्यहाँबाट एस्कोर्टिङसहित उनीहरूलाई पनि कार्यक्रमस्थल तीनकुने पर्याउने भएको छ ।
आजका लागि नियमित टोली बाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ । यस्तै, सशस्त्र प्रहरीले पनि शुक्रबारको कार्यक्रमका लागि २ हजार जनशक्ति परिचालन गर्ने भएको छ । कार्यक्रम स्थलमा लठ्ठी लिएर आउन नपाइने, अवाञ्छित गतिविधि गर्न नपाउने, निषेधित क्षेत्र तोड्न नपाउने, तोकिएका रुट प्रयोग गर्ने र त्यसलाई अवज्ञा गरे प्रहरीले त्यही अनुसारको तयारी गरेको बताइएको छ ।