काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ ।
‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार एक अपील सार्वजनिक गर्दै चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त जनआन्दोलन गर्ने घोषणा गरेको छ ।
संयोजक सुवेदीले राजतन्त्र पुनर्थापनाका लागि गर्ने आन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिइएको जानकारी गराएका छन् ।
संयोजक सुवेदीले जारी गरेको अपीलमा संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको उल्लेख छ ।
उनले नेपाली जनताको चाहना ‘राजतन्त्र’ अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको ‘संवैधानिक राजसंस्था’ भएको स्पष्ट पार्दै अपीलमा ‘संवैधानिक राजसंस्थाकै परिकल्पना गरिएकोले राजसंस्था सँगसँगै देशमा राजनीतिक दलहरूको अस्तित्व रहनु पर्छ र त्यसका लागि बिना कुनै धनजनको क्षति बर्तमान राजनीतिक दलहरू शान्तिपूर्ण रूपमा सहमतिमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो’ भनिएको छ ।
वर्तमान संविधान संशोधन गरेर सम्भव नभएको उल्लेख गर्दै उनले २०४७ सालको संविधानलाई आधार मानेर २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्नु पर्ने बताएका छन् ।
सुवेदीले संयुक्त जनआन्दोलन समितिलाई सुझाव तथा सल्लाह प्रदान गर्नका लागि ‘नेपाल ऋषी’ डा. जगमान गुरुङ्गको संयोजकत्ववमा सल्लाहकार समिति रहने जनाएको छ भने राप्रपाका नेता सांसद डा. धवल शमशेर राणा संयोजक रहको १,१११ सदस्यीय ‘आन्दोलन परिचालन समिति’ रहेको जनाएको छ ।