काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडै शान्ति प्रक्रिया टुंगोमा पुर्याएर द्वन्द्वपीडितको घाउमा मल्हम लगाउनु पर्ने बताएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुनु पर्ने र आफूलाई श्रेयको भोक नभएको पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । सफल पारौं यसलाई ।’
नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न आह्वान गर्दै प्रधानमन्त्री ओलीले भने ‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ ।’
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताए । विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल हुनु दुर्भाग्य भएको बताए ।
मर्म मिल्ने र क्षमतावान व्यक्तिहरुलाई ती आयोगहरुमा नियुक्त हुनुपर्ने भन्दै उनले त्यसलाई पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।