काठमाडौं । चैत्र १५ गते काठमाडौंमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाले गणतन्त्रवादीहरूलाई आह्वान गरेको छ ।
बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको तर्फबाट १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते गर्न लागेको प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीहरूलाई उपस्थित हुन आह्वान गरे । उनले गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीहरूप्रति जनताले गरेको समर्थन र विरोधको नेताहरूले आत्म समीक्षा गरिरहेको बताए ।
उनले नेपालको समाजवादको यात्रालाई रोक्न प्रतिगामीहरूको आन्दोलनमार्फत विदेशी शक्तिले षड्यन्त्र गरेको जिकिर गर्दै नेपाली जनतालाई सचेत हुन आग्रह गरे ।
प्रवक्ता विश्वकर्माले अग्रगमनको विरुद्धमा हुने सबै खाले क्रियाकलाप सैह्य नहुने बताए । उनले राजनीतिक प्रतिगामीहरूको भ्रममा नेपाली जनता नपर्ने जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने क्रममा भएका त्रुटि सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।