काठमाडौं । राष्ट्रिय सभा बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ सांसदहरू उठेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिएका थिए ।
अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
अछामीले बोलिसकेपछि विपक्षी दलहरूले अवरोधलाई निरन्तरता दिएपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका हुन् ।
यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका कारण आधा घण्टाका लागि स्थगित भएको थियो । डेढ घण्टा वितिसक्दा पनि वैठक अझै बस्न सकेको छैन ।