काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध भएको छ ।
प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको आरोप लगाउँदै संसदमा विरोध गर्ने निर्णय गरेको थियो ।
बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका थिए ।
विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।
बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग गरे ।
सरकारले घिसिङलाई हटाउने निर्णय फिर्ता गरेर त्यसको जानकारी प्रधनमन्त्रीले संसदमा आएर तत्काल नगराएसम्म संसद सूरु हुन नदिने चेतावनी दिएका थिए ।
बस्नेतले बोलीसकेपछि प्रतिपक्षी दलहरुले उठेर वैठक अवरोध गरेका हुन ।