काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने भएका छन् ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने निर्णय गरेको एक नेताले बताएका छन् ।
सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । सोही वैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । उनले हिजोबाट पद सम्हालिसकेका छन् ।
आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको छ । शक्ति प्रयोग गरेर सेवाबाट हटाउने सरकारले निर्णय विरुद्धमा सडकमा पनि आवाज उठेको र आजबाट सदनमा पनि त्यस निर्णयका विरुद्ध, सरकारका विरुद्ध आवाज ती नेताले बताए ।
आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।