काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई असफल पार्न केन्द्रित रहेको बताएका छन् ।
मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरूका अनावश्यक कुरामा सरकारले ध्यान विकेन्द्रित नगर्ने बताउँदै देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा ध्यान रहेको बताएका छन् ।
सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन नदिन विरोधीहरू लागिरहेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने बताएका छन् ।
कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ भन्ने ध्याउन्नमा रहेकाहरु सत्यलाई ढाक्न र झूटलाई फैल्याउन बहुतै सक्रिय देखिएको ओलीले बताएका छन् ।
आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने दावी गर्दै प्रधानमन्त्री ओलीले ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेर जनतामा भ्रम र आशंकाहरु छर्ने काम नगर्न आग्रह गरका छन् ।