काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुका पछिल्ला गतिविधिलाई लिएर नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । पुनः राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गरिएका गतिविधिको आठ जना नागरिक अगुवाहरूले भर्त्सना गरेका हुन् ।
ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधि नेपालको भूराजनीर्ति थप कमजोर बनाउने चिन्ता व्यक्त गर्दै उनीहरुले नेपालको संविधान (२०७२) संघीय, लोकतान्त्रिक र धर्मनिरपेक्षताको आधारमा निर्मित दस्तावेजलाई कमजोर बनाउने कुनै पनि प्रयासले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन् ।
मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रीता परियार, सुशील प्याकुरेल, चिरञ्जीवी प्रसाईँ र हिरा विश्वकर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भारतले नेपालमा गरेको नाकाबन्दी बिर्सिएर ज्ञानेन्द्र शाहले व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्दीमा फर्किन भारत सरकारको शरणमा पुगेको आरोप लगाइएको छ ।
‘भारतीय हिन्दुत्ववादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन खोज्दा नेपालको अखण्डतामा गम्भीर घात पर्छ भन्ने हाम्रो बुझाइ हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘इतिहास हेर्दा पृथ्वीनारायण शाहले उत्तर दक्षिणका साम्राज्यसँग सतर्क रही नेपालको सार्वभौमिकता बचाउँदै मुलुक ठड्याएका हुन्, जुन आज विश्वकै पुरानो राष्ट्र(राज्यमध्ये पर्दछ । बिडम्बना, उनकै १० औं पुस्ताका ज्ञानेन्द्र व्यक्तिगत स्वार्थका लागि विदेशी पुरातनपन्थीको शरण र आडमा १० वर्षको संविधानलाई लत्याउन खोजिरहेछन् ।’
संसद राजतन्त्र माग गर्ने स्थान नभएको जनाउँदै उनीहरुले केही सांसदले सीमा बाहिर गएर राजतन्त्र मागिरहेको भन्दै त्यसलाई संसदीय दस्तावेजबाट हटाउनुपर्ने बताएका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्ति यस्तो छ –