काठमाडौं । नेकपा एमालेले केही स्वदेशी र विदेशी मिडियाहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडिको जनप्रदर्शनको विषयलाई लिएर बोलेको भनिएका कुराहरु सत्य नभएको स्पष्ट पारेको छ ।
पार्टीका महासचवि शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नुपूर्व पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमहरुलाई अनुरोध गरेका छन् ।
आफ्नो पार्टी र वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको जनाउँदै महासचिव पोखरेलले कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने बताएका छन् ।
नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय भएको वताउँदै इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा आफूहरु विश्वस्त रहेको विज्ञप्तिमा जनाइएको छ ।
हालैको एमाले बैठकमा ओलीले आफूलाई हटाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ लागिपरेको भन्दै भारतलाई देखाइदिने चेतावनी दिएको समाचार केही सञ्चारमाध्यममा आएका थिए ।
महासचिव पोखरेलले यस्ता झुठा समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारतबीचको युगौं पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेको बताएका छन् ।