काठमाडौँ । फागुनमा देशभर ४ हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । यीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका १ हजार १२७ मुद्दा छन्, जुन कुलको २५.२२ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा अपराधका घटना धेरै देखिएको छ र बैंकिङ कसुरका मुद्दा पनि त्यहीँ बढी दर्ता भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बैंकिङ कसुरमा चेक बाउन्सका घटना धेरै छन् ।
उनले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध बढ्दै गएको बताए । बैंकिङ कसुरका १,१२७ मुद्दापछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५२१ मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, आत्महत्यासम्बन्धी ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीका १६२, सवारी ज्यानका १५४, ज्यान मार्ने उद्योगका ७१ र कर्तव्य ज्यानका ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
आचार्यका अनुसार काठमाडौँ उपत्यकामा १ हजार ३३७ मुद्दा दर्ता भएका छन् ।
मधेस प्रदेशमा ७१५, कोशी प्रदेशमा ६६५, लुम्बिनी प्रदेशमा ६१२, बागमतीमा ३७६, सुदूरपश्चिममा २७९, गण्डकीमा ३२३ र कर्णालीमा १६१ मुद्दा प्रहरीमा आएका छन् । उनका अनुसार यी तथ्याङ्कले अपराधको अवस्था क्षेत्रअनुसार फरक देखाउँछ । रासस

























